सीडीएसको नाफा ८ करोड ८३ लाख |
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४⁄७५ मा ८ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ ।
कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात ६ करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले कर योग्य आय १२ करोड ५८ लाख ८५ हजार रुपैयाँमा नियमानुसार लाग्ने कर तीन करोड १४ लाख ७१ हजार रुपैयाँ राजश्व भुक्तानी गरेको छ ।
लिमिटेडका अनुसार आव २०७४⁄७५ मा चार लाख २१ हजार ५२३ नयाँ हितग्राही खाता खोलिएको छ । सो सङ्ख्या गत आवमा चार लाख ८० हजार ८७६ रहेको थियो । आव २०७४⁄७५ मा एक अर्ब २० करोड ८५ लाख ८२ हजार२०० कित्ता शेयर अभौतिकीकरण गरिएको छ । सो सङ्ख्या अघिल्लो आवमा एक अर्ब पाँच करोड ९४ लाख ६३ हजार २९९ रहेका छन् ।
समीक्षा अवधिसम्म अभौतिकीरकण भएको धितोपत्रको सङ्ख्या चार अर्ब दुई करोड ७२ लाख ८५ हजार ५७७ पुगेको छ । सि–आश्वा प्रणालीमा आवद्ध भएका ६४ वटा बैंक तथा वित्तीय संस्थामार्फत सीआरएन नम्बर लिने लगानीकर्ताको सङ्ख्या सात लाख ६६ हजार ५४८ रहेको छ । सो सङ्ख्या समीक्षा अवधिसम्म सात लाख ७१ हजार ८८० रहेका थिए ।
यस्तै ‘मेरो शेयर’ प्रयोग गर्नेको सङ्ख्या तीन लाख ९८ हजार ३८८ पुगेको छ । सि–आश्वा प्रणाली लागू भएपछि नेपालको पूँजीबजारको इतिहासमा पहिलो पटक सार्वजनिक निष्काशन बन्द भएको ३७ घण्टाभित्र शेयर बाँडफाँट गर्न सफल भएको लिमिटेडले जानकारी दिएको छ । लिमिटेडको हालै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।