प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज बुधबार भारत भ्रमणमा जाँदैछन् । पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । दिउँसो २ः५० बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी भारत भ्रमणमा निष्किने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भ्रमण टोलीमा प्रधानमन्त्रीसहित पाँच मन्त्रीहरु पनि सहभागी हुनेछन् । जसमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल रहनेछन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किनेछन् । भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा छलफल गरिने कार्यक्रम तय गरिएको छ । पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषय भ्रमणमा छलफलका विषय बनाएको छ ।
दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटीलगायतका विषयमा पनि सम्झौता र सहकार्यका लागि गृहकार्य गरिएको छ ।
‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने, बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार तय गरिने पराराष्ट्र मन्त्रालयले यसअघि जानकारी गराइसकेको छ ।
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुसँग छलफल गरी सुझावसमेत लिएका छन् । मुलुकको अहित हुने कुनै पनि काम नगर्ने उनले पटकपटक प्रतिबद्धता जनाएका छन् । सकेसम्म राम्रो गर्ने, त्यो सम्भव नभए पनि मुलकुका लागि अहित हुने गरी कुनै पनि सम्झौता नगरिने प्रधानमन्त्रीले बताएका छन् ।