मेगा बैंकको ७.८५ प्रतिशत लाभांश पारित | वैदेशिक रणनीतिक साझेदार भित्र्याउन सञ्चालक समितिलाई अख्तियारी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई बोनस शेयरसहित ७.८५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हिजो सोमवार काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७४÷७५ सम्म सञ्चित मुनाफा एवम् वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैयाँ ५९ पैसा नगद लाभांश पारित गरेको हो ।
यसैगरी, चुक्ता पूँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैया ८० पैसा बोनस शेयर पनि साधारण सभाले पारित गरेको छ । साथै, सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउनसमेत सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधीनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको कुल निक्षेप ३ अर्ब १५ करोड रुपैयाँले वृद्धि भई ६६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपैयाँले वृद्धि भई ६२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।