सरकारले लगाउने भयो ५ प्रतिशत पर्यटन शुल्क, नेपालीको विदेश भ्रमण महंगिने
काठमाडौं । विदेश भ्रमणमा जाने नेपाली पर्यटकको भ्रमण खर्च थप बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ बाट लागु हुने गरी नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क असुल्ने भएको छ ।
पर्यटन शुल्क वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बखत असुल गर्नुपर्नेछ भने कुनै कम्पनीले व्यवसाय प्रवर्द्धनको सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजादा लाग्ने खर्च व्यवस्था गर्दा तिर्नुपर्नेछ ।
वैदेशिक पर्यटन शुल्कबापत संकलन गरेको रकम सम्बन्धित प्याकेज बिक्रीकर्ताले अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरेर सोको जानकारी राजश्व कार्यालयमा दिनुपर्ने बताइएको छ । पर्यटन शुल्क बापत्को रकम दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले व्याज लगाई असुल गर्ने व्यवस्था समेत गरिएको छ ।