अरुण काबेलीको वार्षिक साधारणसभा, अध्यक्षमा गुरुप्रसाद न्यौपाने सर्वसम्मत | आयोजनाको निर्माण कार्य अन्तिम चरणमा, आगामी माघदेखि उत्पादन शुरू गर्दै
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको साठौं तथा आठौं संयुक्त वार्षिक साधारणसभा आज सोमवार काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
सभाले कम्पनीका संस्थापक शेयरधनीको तर्फबाट गुरुप्रसाद न्यौपाने, जीवनराज शाक्य, बच्छराज तातेड र भेजप्रसाद तिमिल्सिना सञ्चालक पदमा सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट मिलन खड्का र नोलकुमारी आचार्य (महिलाको प्रतिनिधित्व गर्ने गरी) सञ्चालकमा सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताल सञ्चालकमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
उक्त सभाले आर्थिक वर्ष (आव) २०७३७४ तथा आ.व. २०७४२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरू समेत स्वीकृत गरेको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आउँदै गरेको माघ महिनाभित्रै निर्माण सम्पन्न भई उत्पादन शुरू गर्ने अनुमान गरिएको उक्त आयोजनाको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ । आयोजनाको प्रस्तावित नयाँ व्यापारिक उत्पादन शुरू हुने मिति २०७५ साल असोज २४ गते तय गरी विद्युत् खरीद सम्झौतामा यो तेस्रो पटक संशोधन गरिएको हो । नेपाल विद्युत प्राधिकरणले ट्रान्समिशन लाइनको निर्माण पूरा गरिनसकेको हुँदा यसमा अर्को संशोधन गरी आगामी माघमा उत्पादन हुने मिति तय गरिएको कम्पनीले बताएको छ ।
यो आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक-काबेली (मेची कोरिडोर) १३२ के.भी. डब्बल सर्किट राष्ट्रिय प्रसारण लाइनअन्तर्गत पाँचथर जिल्लाको अमरपुर सबस्टेशनमा जोड्ने गरी सम्झौता भएको छ ।
आयोजनाको हाइड्रोमेकानिकलअन्तर्गत पेनस्टक पाइप, गेट निर्माण तथा जडान, इलेक्टोमेकानिकल तथा स्विचिङ सबस्टेशनमा लाग्ने मेशिनहरू जडान कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, कम्पनीले निर्माण गर्नुपर्ने काबेलीदेखि अमरपुर सबस्टेशनसम्मको ४.५ किलोमिटर लामो १३२ के.भी. प्रसारण लाइन निर्माण कार्य पनि सम्पन्न भई लाइन चार्जसमेत भइसकेको कम्पनीले बताएको छ ।
उत्पादन शुरू भएपछि वर्षातका ८ महिनाभरि रू ४.८० प्रतिकिलोवाट र हिउँदका ४ महिनामा रू. ८.४० प्रतिकिलोवाटको दरमा नेपाल विद्युत् प्राधिकरणले उक्त आयोजनाको विद्युत् खरिद गर्ने गरी सम्झौता भएको छ ।
कुल रू. ४६३ करोड लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा अहिलेसम्ममा रू. ४५४ करोड खर्च भइसकेको कम्पनीले जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको रू. २९४ करोड कर्जा लगानी रहेको यस आयोजनामा शेयरधनीहरूका तर्फबाट रू. १५० करोड लगानी भइसकेको छ ।