माथिल्लो तामाकोशीको कारोबार रोकियो | कारोबार भइसकेको १४ हजार कित्ता पनि रद्द, भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुने
काठमाडौं । हिजो आइतवारदेखि मात्र दोस्रो बजारमा कारोबार शुरू भएको माथिल्लो तामाकोशीको शेयरको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज सोमवारका लागि स्थगित गरेको छ । आज उच्च मूल्यमा १४ हजार ३ सय ९५ कित्ता कारोबार भइसके पनि आज भएका उक्त कम्पनीका सबै कारोबारसमेत रद्द हुने बताउँदै प्राविधिक कारणले कारोबार रोक्नुपरेको नेप्सेले स्पष्ट पारेको छ ।
आज सोमवार दिउँसो नेप्सेले कारोबार नरोकुञ्जेलसम्म उक्त कम्पनीको शेयरमा ५० प्रतिशतसम्म मूल्य बढेर कारोबार भइरहेको थियो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘उक्त कम्पनीका आज भएका ती सबै कारोबार रद्द हुनेछन् र भोलि हिजोकै क्लोजिङ मूल्यअनुसार कारोबार हुनेछ ।’ उनले ओपन रेञ्ज दिँदाको सिष्टमअनुसार नै कारोबार भएकाले समस्या देखिएको बताए । उनले अन्य कारोबारहरू भने नियमित हुने बताए ।