अपर तामाकोशीको साधारण शेयर आजदेखि दोस्रो बजारमा | शुरूमै प्रतिकित्ता २२४ रुपैयाँमा कारोबार, आईपीओका लगानीकर्ताले कमाए १२४ प्रतिशत नाफा
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोवावरको साधारण शेयर आजदेखि दोस्रो बजारमा उच्च मूल्यमा कारोबार शुरू भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७४.८९ रुपैयाँदेखि २२४.६७ रुपैयाँसम्ममा किनबेच गर्न सक्नेगरी प्रारम्भिक रेन्ज तय गरेकोमा नेप्सेले तोकेको उच्चतम मूल्य प्रतिकित्ता २२४ रुपैयाँमै उक्त कम्पनीको शेयर कारोबार भएको छ ।
यो कारोबारसँगै अब यो कम्पनीको आईपीओका लगानीकर्ताले केही महिनामै १२४ प्रतिशत मुनाफा आर्जन गर्न पाउने भएका छन् ।
नेपालकै सबैभन्दा बढी शेयरधनी भएको उक्त कम्पनीले शेयर निष्कासन अनुमति पाएको बेलामा कायम रहेको नेटवर्थदेखि त्यसको तीन गुणासम्ममा ओपन रेञ्ज दिन सक्ने प्रावधानबमोजिम उक्त रेञ्ज नेप्सेले तोकिएको थियो ।
अब नियमित प्रक्रियाअनुसार कारोबार र मूल्य उचारचढाव प्रक्रिया अघि बढ्नेछ । उक्त कम्पनीको साधारण शेयर र कर्मचारीका लागि जारी गरिएको शेयर आज आइतवारदेखि एकसाथ खुलेको हो ।