आमाबाबुलाई बेवारिसे बनाउँदै हुनुहुन्छ ? होस् गर्नुस्, त्यस्ता छोराछोरीलाई अब ५ वर्ष जेल सजाय |
काठमाडौं । हाम्रो समाजमा बाबुआमालाई आफ्नै छोराछोरीले घरबाट निकालेर सडकको बास भएको देख्न र सुन्न पाइएको छ । त्यस्तै कतिपय छोराछोरीले बुबाआमालाई धेर मानेर वृद्धाश्रमहरूमा जीवन बिताइरहेको पनि देख्दै आइरहेका छौं । अब यस्ता कार्यलाई अझ दण्डनीय बनाउन सरकारले जेष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्न संसद्मा विधेयक दर्ता गरिसकेको छ ।
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न संसदमा दर्ता भएको विधेयकमा छोराछोरीले आफ्नो पारिश्रमिकको निश्चित रकम आमाबाबुको खातामा जम्मा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । साथै इच्छा विपरीत अलग बस्न बाध्य बनाए, भिक्षा माग्न लगाए वा बेवारिसे बनाए दण्डनीय हुने उल्लेख छ ।
उक्त प्रस्तावित कानूनमा आफ्ना बुबाआमालाई घरबाट निकाली भिक्षा माग्नुपर्ने अवस्थासम्म पुर्याए ३ वर्षसम्म कैद वा ३० देखि ९० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय, फकिर (बेवारिसे) बनाए १ देखि ५ वर्षसम्म जेल वा १ देखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै, इच्छाविपरीत अलग बस्न बाध्य बनाए १ देखि ३ महिनासम्म जेल सजाय वा १० देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
जेष्ठ नागरिकको सम्पत्ति लिन बदनियतले काम गरे पनि १ देखि ५ वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना हुनेछ । जरिवाना रकम आमाबाबुको बैंक खातामा जम्मा गरिनेछ । यदि यो ऐनअनुसार सजाय पाएको व्यक्तिले पुनः गल्ती गरेमा १० प्रतिशत सजाय थप हुने व्यवस्थासमेत उक्त प्रस्तावित कानूनमा गरिएको छ ।
छोराछोरीले आफ्नो कर्तव्य पालना गरे÷नगरेको सम्बन्धी मुद्दा स्थानीय तहको न्यायिक समितिले हेर्नेछ भने बाँकी मुद्दा जिल्ला अदालतले हेर्ने व्यवस्था गरिएको छ । उक्त विधेयक राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।