छैटौँ चेम्बर एक्स्पो भृकुटीमण्डपमा सुरु
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो बिहीबार सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरू लगायत जडीबुटी, आयुर्वेदिक जन्य बस्तुहरू पनि प्रदर्शनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । छैटौँ चेम्बर एक्स्पोको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी भण्डारीले उद्घाटन गरे ।
एक्स्पोको उद्घाटन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योग, व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री भण्डारीको भनाइ छ ।
मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधिलाई बढाउन व्यापार मेला आयोजना गरिएको बताए । छैटौँ व्यापार मेलामा चेम्बरले अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरूको बजारीकरणमा जोड दिइने जनाएको छ ।
सम्बोधनका क्रममा अध्यक्ष मल्लले विदेशबाट आउने बस्तुहरूको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि बस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारसमक्ष अनुरोध गरे ।
चेम्बर एक्स्पोलाई सम्बोधन गर्दै वाणिज्य सचिव मधु मरासिनीले अर्थतन्त्रलाई चलायमान बनाउन व्यापार मेला फलदायी हुने बताए ।
उत्पादन र उपभोक्तालाई एक ठाउँमा जोड्न पनि मेला निकै फलदायी भएको वाणिज्य सचिव मरासिनीको भनाई छ ।
मेला आज बिहीबारदेखि आगामी ८ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी उद्योगी व्यवसायीसँगै भारत, बङ्गलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।