सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
काठमाडौं । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छिन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।
नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।
शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताईन् । शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाईन् ।
नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यसवर्ष सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो ।