समाचार लेखनका विषय लिएर पत्रकारलाई धम्की दिने राप्रपाका नेतालाई कारवाही गर्न सेजनको माग
काठमाडौँ । आर्थिक पत्रकार समाज सेजनले समाचर लेखनका विषयलाई लिएर पत्रकारलाई धम्की दिने राप्रपा नेतालाई कारवाही गर्न माग गरेको छ। हिमालय टाइम्स दैनिकका अर्थ ब्यूरो प्रमुख लेखनाथ पोखरेललाई समाचार लेखनका विषय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दोलखा सभापति राजनबाबु सिवाकोटी र उनको साथमा आएका व्यक्तिहरूले दिएको धम्कीप्रति सेजनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिन्धु ज्वाला हाइड्रोपावरुका विषयमा लेखिएको समाचारलाई लिएर ज्यान मार्ने सम्मको धम्की दिएको जानकारी पत्रकार पोखरेलले दिएका छन्। प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा कार्यालयमा नै प्रवेश गरी अभद्र व्यवहार गरेको र ज्यानै लिनेसम्मको धम्की दिएको भन्दै उक्त घटनाको भत्सना समेत गरेको छ।
सेजनले धम्की दिने व्यक्तिउपर छानबिन गरी कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ।