बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुँदै, १५० पार्कका ३ सय प्रतिनिधि सहभागी हुने
बुटवल । रुपन्देहीको बुटवलमा हुन राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको व्यवस्थापनमा जेठ ६ र ७ गते गरी २ दिन आयोजना हुने सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
पार्क सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजक खेम लुईटेलले पार्क तथा उद्यान सम्बन्धी नीति निर्माण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेगरी देशभरि छरिएर रहेका उद्यानको व्यवस्थापन र सञ्चालनमा समस्याको पहिचान र समाधानका उपाय पत्ता लगाउने बताए ।
सम्मेलनमा देशभरिका करिब १५० पार्कका ३ सय जना प्रतिनिधि सहभागी हुने र पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए ।
उनले बगैँचा, फूलबारी, गुफा, ताल तलैया, सिमसार क्षेत्र, मठ–मन्दिर क्षेत्र तथा रमणीय सम्भाव्यता बोकेका स्थानहरु अहिले पार्क, उद्यान तथा वाटिकाको रुपमा विकास भएको बताउँदै यस्ता उद्यानहरुले प्रकृतिदेखि संस्कृतिसम्म, वातावरण, जैविक विविधता, सौन्दर्यता र मनोरन्जन लगायतका सांस्कृतिक तथा धार्मिक आयामहरुलाई समेत आत्मसात् गरेको बताए ।
सम्मेलनमा संविधानविद् काशीराज दाहालले पार्क व्यवस्थापन र कानुनी जटिलता तथा पत्रकार डीआर घिमिरेले पर्या पर्यटन र पार्क व्यवस्थापन सम्बन्धमा अलगअलग कार्यपत्र प्रस्तुत गर्नेछन् ।
पत्रकार सम्मेलनमा शंकरनगर वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले पार्क तथा उद्यानहरु पर्या पर्यटनको मुख्य आधार हो भन्ने विषयलाई स्थापित गर्न तथा नेपाली समाज बहुजातीय, बहुसांस्कृतिक भएको हुँदा कला संस्कृतिलाई पर्यटन प्रवर्द्धनसँग जोडेर रोजगारी सिर्जना गर्न सम्मेलनले सहयोग गर्ने बताए ।
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका प्रमुख प्रशासकीय अधिकृत अनन्त सिलवालले सम्मेलनको सम्पूर्ण आर्थिक व्यवस्थापन मणिमुकुन्द सेन उद्यान संरक्षण समिति र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रले गर्ने बताए ।