१० लाख आप्रवासी भित्र्याउने तयारीमा क्यानडा, तपाईं पनि जाने कि ? |
काठमाडौं । क्यानडाले शरणार्थीको मामिलामा उदार नीति अपनाएको छ । त्यहाँको संसद्ले हालै मात्र तीन वर्षभित्र १० लाखभन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ । क्यानडाको यस्तो कदमले त्यहाँ प्रतिवर्ष १ प्रतिशत जनसंख्या थपिनेछ ।
२०१८ मा क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे । २०१९ मा यो संख्या साढे ३ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । त्यस्तै, २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ । क्यानेडियन अध्यागमन, शरणार्थी तथा नागरिकतामन्त्री अमिद हुसेनले भने, ‘विश्वभरबाट यहाँ पाल्नुहुने महानुभावहरुलाई इतिहासले स्वागत गरेको छ । सवल एवम् विकसित यस क्यानडामा तपाइँहरू बस्न रुचाउनेहरू यहाँ आएर खुशी हुनुहुनेछ ।’
हुसेन आफैं पनि सोमालियाबाट आएका शरणार्थी हुन् । हुसेनले क्यानडाको यस्तो कार्यले घट्दो जनसंख्याका बीच बढ्दो श्रम आपूर्ति समस्यालाई समाधान गर्नेछ । क्यानडाका अन्य मित्रराष्ट्रहरूले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाइ गरिरहँदा उसले भने उदार नीति अपनाउँदै आप्रवासीहरूलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । हालसम्म क्यानडाका कुल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले बताएको छ । (सीएनएनबाट)