नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न प्रजातान्त्रिक विचार समाजको जोडदार माग
काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई निर्मम ढंगले कारबाही गर्न जोडदार माग गरेको छ ।
संस्थाको राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी गराउन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजले राज्य संरचना र अधिकारीहरू नै संलग्न राज्यद्रोहकै स्तरका यस्ता अपराधमा जोडिएका जोकोहिमाथि पनि निर्मम ढंगले कारबाही गर्न जोडदार माग गरेको हो ।
जतिसुकै ओहोदामा भएपनि अपराध गर्नेलाई सोहि अनुसारको व्यवहार र दण्ड बिना भेदभाव दिईनुपर्ने समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए ।
उनले अन्तराष्ट्रिय संगठित अपराधमा संलग्न रहेका राजद्रोहीहरुलाई विभिन्न बहानामा जोगाउने, मुद्दा कमजोर बनाउने वा राजनीतिक तहलाई जोगाएर केही व्यक्तिलाई कठघरामा पुराएर घटना सामसुम बनाउने षडयन्त्रको गन्ध आइरहेको बताए ।
त्यस्तै केसीले समाजको २५ औं केन्द्रीय साधारणसभा एवं १२ औं राष्ट्रिय महाधिवेशन जेष्ठ ३ र ४ गते काठमाडौंमा हुने र समाजको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए ।
महाधिवेशनका क्रममा यस वर्ष लोकतान्त्रिक योद्धा सम्मानबाट डा सुरेश मल्ललाई सम्मान गर्ने निर्णय भएको समाजले जनाएको छ ।