विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाले गरे नयाँ दल दर्ता |
काठमाडौं । पार्टी एकता गरेको डेढवर्षमै विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।
संयोजक उज्वल थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन पेश गरेपछि आन्तरिक विवाद सतहमा आएको थियो ।
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।
विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्षले पुरानै पार्टी ब्यूताउन लागेका हुन् ।