आन्तरिकतर्फ बुद्ध, यति र श्री एयरलाइन्सले २५ वटासम्म रात्री उडान गर्दै |

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जाम बढदै गइरहेको छ । यस लाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् ।
यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन् ।
त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०⁄१२ वटा उडान रातिकै समयमा हुन थालेको छ । लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो ।
सिमरा, विराटनगर, भैरहवा, नेपालगञ्जमा रातिको समयमा पनि उडान भर्न सम्भव छ । धनगढीको एयरपोर्टमा पनि साँझसम्म उडान गर्न सकिन्छ । निकट भविष्यमै चन्द्रगढी र जनकपुर एयरपोर्ट पनि राति उडान गर्न योग्य बनाइँदै छ । यी दुई एयरपोर्ट पनि स्तरोन्नतिपछि राती हुने उडान थप्ने योजना विमानस्थल कार्यालयको छ ।
रातिको उडान संख्या बढाएपछि विमानस्थललाई पनि व्यवस्थापनमा सहज हुँदै गएको छ । अहिले विमानस्थलमा उडान संख्या धेरै हुँदा एयर ट्राफिक जामको बढ्दो छ ।