बूढानीलकण्ठबाट टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोप बहादुर रायमाझीको संलग्नता खुलाएको प्रहरीले दाबी गरेको छ ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।