एनआईसी एशियामा ‘प्रिमियम समुन्नति बचत खाता’ खोल्ने ग्राहकले पाए ५ लाख क्षतिपूर्ति |

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बचत निक्षेप योजनाअन्तर्गत ‘प्रिमियम समुन्नति बचत खाता’ खोल्ने एक जना ग्राहकलाई बीमा दाबी भुक्तानीबापत रू. ५ लाख हस्तान्तरण गरेको छ । बैंकले उक्त योजनामा सहभागी स्वर्गीय राजकृष्ण श्रेष्ठका हकवाला तथा निजका छोरा रजतकृष्ण श्रेष्ठलाई उक्त रकमबराबरको चेक आज बिहीवार हस्तान्तरण गरेको हो ।
उक्त चेक बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हकवाला रजतकृष्णलाई हस्तान्तरण गरेका हुन् ।
ग्राहक राजकृष्णको गत कात्तिक २० गतेका दिन दुर्घटनामा परी असामयिक निधन भएको थियो । उनले उक्त खाता खोल्दा ५ लाखबराबरको दुर्घटना बीमा निःशुल्क रूपमा पाएका थिए । ग्राहकले उक्त योजनाबाट पाएको क्षतिपूर्तिबापतको रकमले खातावालको परिवारजनमा थोरै भए पनि सहयोग पुग्ने बैंकको विश्वास छ ।
एनआईसी एशिया बैंकले हाल २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवम् आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
हाल यस बैंकको वासलातको आकार २१५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ तथा कर्जा १४६ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पुर्याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै सञ्चालन गरिरहेको छ ।