अपर तामाकोशीको डेढ करोड कित्ता शेयर आइतवारदेखि दोस्रो बजारमा |
काठमाडौं । नेपालमा ७ लाखभन्दा बढी शेयरधनी भएको कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको डेढ करोड कित्ता शेयरको दोस्रो बजारमा कारोबार आइतवारदेखि शुरू हुने भएको छ । नेपालमै सबैभन्दा धेरै शेयरधनी संख्या भएको उक्त कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीवार सूचिकृत भएको छ । सूचिकृत भएसँगै ३ लाख ३४ हजार शेयरधनीसँग रहेको १ करोड ५८ लाख कित्ता शेयरको कारोबार आइतबारदेखि शुरू हुने निश्चित भएको हो ।
कम्पनीको १० करोड ५९ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ । कुनै पनि सूचिकृत कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको भोलिपल्टदेखि कारोबार शुरू गर्ने व्यवस्था छ । अब इच्छुक लगानीकर्ताले उक्त दिनदेखि दोस्रो बजारमा शेयर किनबेच गर्न पाउनेछन् ।
सर्वसाधारणको कारोबार खुलेसँगै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको कारोबार पनि शुरू हुने बाटो खुलेको छ । अपर तामाकोशीमा १ लाख ७६ हजार कर्मचारीको शेयर छ, जुन जारी भएको ३ वर्ष पूरा भइसकेको छ । त्यस्तै, २ लाख २२ हजार स्थानीयवासीको शेयर भने भर्खरै मात्र जारी गरिएकाले त्यो कारोबार हुन अझै तीन वर्ष कुर्नुपर्नेछ ।