अब सवारी लाईसेन्सको अवधि १० वर्ष, नवीकरण पनि १० वर्ष कै
काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण हरेक १० वर्षमा गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । यसको लागि सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गर्ने तयारी गरेको हो ।
उक्त ऐन संशोधनको लागि प्रस्ताव गरिएको केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भईसकेको छ । विधेयकमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ मा रहेको ५ वर्षसम्म भन्ने शब्दको ठाउँमा १० वर्षसम्म राख्न प्रस्ताव गरिएको छ। यो भनेको चालक अनुमति पत्र बहाल रहने अवधि हो । हालसम्म लाईसेन्स अवधि ५ वर्ष रहेकोमा अब १० वर्ष गर्न लागिएको हो ।
त्यस्तै ऐनको दफा ५६ को उपदफा ३ लाई पनि संशोधन गर्ने प्रस्ताव गरिएको छ । उक्त दफामा हाल लाईसेन्स नवीकरण गर्दा ५ वर्षको लागि गर्न सक्ने व्यवस्था रहेकोमा अब १० वर्षको लागि गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै सवारी जांचपासको प्रमाणपत्रको मानयता हाल ६ महिनासम्म मात्र हुने गरेकोमा अब नयाँ दर्ता भएका सवारीलाई ५ वर्ष र पुरानालाई ६ महिना हुने गरि प्रस्ताव गरिएको छ ।
साथै प्रचलित कानून बमोजिम स्थापना भई तोकिएको मापदण्ड पूरा गरेको निजी क्षेत्रका सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रलाई सवारी जाँचपास तथा प्रदूषणको परीक्षण गरी प्रमाणपत्र जारी गर्न अनुमति दिन सकिने प्रस्ताव विधेयकमा गरिएको छ।
केहि समय अगाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एकपटक लाइसेन्स निकालेको ५ वर्षपछि फेरि लाइन बस्न जाने कुुरा व्यवहारिक नभएको र आर्थिक रुपमा पनि राज्यको खर्च बढाउने देखिएकोले एक पटक लाइसेन्स लिइसकेपछि १० वर्षमा मात्रै नवीकरण गर्ने व्यवस्था ल्याउँने बताएका थिए।