फरवार्ड लघुवित्तको खुद नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९३.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० रुपैयाँभन्दा बढी घटेको छ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १०६ रुपैयाँ ८१ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १०१ रुपैयाँ ३० पैसा घटेर ५ रुपैयाँ ५१ पैसामा झरेको छ। नाफा घटेको र चुक्ता पूँजी बढेका कारण लघुवित्तको यस्तो आम्दानी उल्लेख्य घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.०२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २९.६७ प्रतिशत र सञ्चालन मुनाफा ९३.५० प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.८६ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ४८ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३३.२१ गुणा रहेको छ।
१ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।