आज नेपाल˗जापानबीच सिधा हवाई सम्झौता हुँदै |

काठमाडौं । नेपाल र जापान बीच आज सिधा हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।
जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आई पुगेका छन् । यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । सम्झौतापछि नेपालजापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।
जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश पाउने छैन ।
यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् । मन्त्रीस्तरीय वार्तापछि हवाई सम्झौता हुनेछ । नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरेको थियो ।
नेपाल˗जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल ल्याउन मद्दत पुग्ने सरकारको विश्वास छ ।
नेपाल वायु सेवा निगमका विमानले भारतका तीन सहरहरु मुम्बई, बेंगलुरु, दिल्लीसहित दुवई, हङकङ, मलेसिया, दोहा कतार, बैंककमा उडान भर्दै आएका छन् ।