डिसहोमले साधारण शेयर जारी गर्न साधारणसभा बोलायो |
काठमाडौं । डिसहोम सेवा सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्कले सर्वसाधारणमा शेयर जारी गर्न साधारणसभा बोलाएकोे छ । कम्पनीले बिहीबार होटल र्याडिसनमा साधारणसभा डाकेको छ ।
नौं बर्षअघि स्थापना भएको डिसहोमले सर्बसाधारणलाई १० प्रतिशत शेयर जारी गर्ने छ । कम्पनीले प्रिमियम मूल्य राख्ने र नराख्ने बारे केही पनि बोलेको छैन ।
कम्पनीले संचालनमा आएको ९ वर्षको अवधिमा ४ अर्ब १० करोड ९१ लाख २ हजार १३ रुपैयाँ कर बुझाएको जानकारी दिएको छ ।
कम्पनीले ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ भन्सार, ग्राहकबाट संकलित भ्याट २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टी १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख तीन हजार तीन सय ३४ हजार, आयकर ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट संकलित टीडीएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ बुझाएको जानकारी दिएको छ ।
कम्पनीले चुक्ता पूँजी बढाउन शेयर जारी गर्न लागेको हो । साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि कम्पनीले उद्योग विभाग र नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनु पर्छ ।