सन् २०१८ मा १२ लाख पर्यटक नेपाल आए | अघिल्लो बर्षको तुलनामा करीव २५ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या झण्डै २५ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ को अन्तिमसम्म ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २४ दशमलव ७७ प्रतिशत बढी हो ।
उक्त समयमा नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत ९ लाख ६९ हजार र विभिन्न नाकाबाट सडकको बाटो हुँदै २ लाख ३ हजार जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ ।
सो अवधिमा भारतबाट आउने पर्यटक भने २४ प्रतिशतले वृद्धि भएका छन् भने श्रीलंका बाट आउने पर्यटकमा २०१७ को तुलनामा ५५ प्रतिशतले वृद्धि भएको छ । साथै समग्रमा सार्क राष्ट्रहरुबाट नेपाल आउने पर्यटकमा भने २६ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै २०१८ मा चीनबाट मात्रै १ लाख ५३ हजार ६ सय २ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशतले बढी हो । यस्तै भिजिट नेपाल बर्षका रुपमा मनाउन लागिएको सन् २०२० लाई पछिल्लो २ महिनाले मात्रै ४७ प्रतिशत पर्यटकलाई भित्र्याउन सहयोग पुगेको छ ।
तेस्रो मुलुकबाट आउनेको सङ्ख्या पनि बढ्यो
सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बृद्घि भई ९१ हजार ७ सय ८५ पुगेको छ । यस्तै थाईल्याण्डबाट आउने पर्यटक भने २०१८ मा ३६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५ प्रतिशत १ प्रतिशतले वढेर ३८ हजार ४ सय ८ पुगेको छ । २०१८ मा युरोपेली पर्यटकको आगमनमा पनि उल्लेख्य वृद्घि देखिएको छ । २०१७ भन्दा २०१८ संयुक्त अधिराज्यबाट आउने पर्यटक १५ दशमलब ६ प्रतिशतले बढेका छन् ।
२०१८ मा संयुक्त अधिराज्यबाट ६३ हजार ८६ जना पर्यटक नेपाल भ्रमणमा हुन । जर्मनीबाट ३६ हजार ८ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन २०१७ भन्दा २३ दशमलब १ प्रतिशतले वृद्धि हो ।
यस्तै फ्रान्सबाट ३१ हजार ६ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो २०१७ भन्दा २१ दशमलब १ प्रतिशत वृद्धि भएको हो ।
चिनबाट आउने पर्यटक ४६ प्रतिशतले बढे
बोर्डको तथ्यांक अनुसार बढोत्तरीका हिसाबले चीनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य बढेको छ ।
नेपाल भित्रिने पर्यटक स्रोत बजारमा चीनलाई दोस्रो मानिन्छ । २०१८ मा १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन २०१७ भन्दा ४६ दशमलब ८ प्रतिशतले बढी हो ।
सन् २०२०मा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यो लक्ष्य सरकारका लागि चुनौतीपूर्ण छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल बनिसक्ने भएकाले सीधै लुम्बिनीमा आउने बौद्ध पर्यटकले यो लक्ष्य भेट्न सघाउ पुर्याउने अपेक्षा सरकारको छ ।