आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का विरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर |
काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन अभियोगमा मुद्धा दायर भएको छ । खड्काले १८ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको छ । अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ ।
खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको हो । अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि पछिल्लो समय चलाइएको सबैभन्दा ठूलो बिगो दाबी गरिएको मुद्दा हो ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भाराउन माग गरेको छ ।
खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दाबी अभियोगपत्रमा गरिएको छ । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए ।