दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म आईपीओ विक्रीग गरेको थियो । सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १२ लाख ७१ हजार ८६१ कित्ता शेयर विक्री गरिएको हो । कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमाबाट बाँडफाँट भएको छ । भाग्यमानी १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । बाँकी एक जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरिसकेको छ । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो ।