मर्जरपछि कुमारी बैंकको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड अर्थात एनसीसी बैंकलाई मर्ज गरी गत पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै मात्र बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८२ करोड २ लाख रुपैयाँ (पुस १६ गतेसम्मको एनसीसी बैंकको खुद नाफा सहित) खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि निष्क्रिय कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६७.८८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा २७.८२ प्रतिशत घट्न पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ लाख ८६ हजार रुपैयाँ रहेको छ।
नाफा थाेरै बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९ पैसा घटेर ९ रुपैयाँ २५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा रहेको छ।
पछिल्लो ९ महिनामा एनसीसी बैंकलाई मर्ज गरी चुक्ता पूँजी २६ अर्ब २२ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १० अर्ब ५६ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७१.५७ प्रतिशत बढेको छ भने कर्जा ८०.८१ प्रतिशत बढेको छ।