वाइडबडी खरीदमा रविन्द्र अधिकारीको प्रष्टीकरणː अनुमान र पूर्वाग्रहको आधारमा मलाई फसाउन खोजियो |
काठमाडौं । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीले वाइड वडी विमान खरीद प्रकृयामा आफू संलग्न नरहेको प्रष्टीकरण दिएका छन् । मन्त्री अधिकारीले आफू आउनुअघि नै भूक्तानी तालिका स्वीकृत भइसकेको र सर्वोच्च अदालतबाट पनि विमान खरीद प्रकृया सम्मत भएको फैसला आएको बताएका छन् ।
जहाज खरीदमा आफ्नो कुनै भूमिका नभएको भन्दै मन्त्री अधिकारीले भने, ‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरु छिटो प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु ।’
वाइड बडी खरीदमा साढे चार अर्ब रुपैयाँ घोटाला भएको संसदको लेखासमिति अन्तर्गतको उपसमितिले उल्लेख गरेको छ । यसपछि विपक्षीहरुले दोषीलाई कारवाही गर्नु पर्ने माग राख्दै आएका छन्।् । यस सन्दर्भमा मन्त्री अधिकारीले प्रष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गर्दै भने, ʽमप्रतिको जनताको विश्वास र भरोसा कहिल्यै टुट्न दिने छैन । म भागेर अरुलाई दोष दिने पनि छैन ।ʼ