एनआइसी एसिया बैंकको तेस्रो तैमासको वित्तीय सूचकहरु आकर्षक, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । एनआइसी एसिया बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११.३८% ले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष यसले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफामा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खुद ब्याज आम्दानी ११.६१% र सञ्चालन नाफा १३.१०% ले सुधार भएपछि खुद नाफा बढेको हो ।
यस बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा विस्तार भएको छ । गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न नियामकले रोकेपछि यसको पुँजी स्थिर छ । जसका कारण रिजर्भ कोष ४४.०६% ले बढेको छ ।
पुँजी वृद्धिको दबाब नहुँदा प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८२ पैसाले बढेर ४६ रुपैयाँ ७६ पैसा कायम भएको छ । चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा छ ।