हाम्रो पेमा जोडियो हाम्रो रेमिट
काठमाडौँ । हाम्रो पात्रो अन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको हो ।
हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैसा पठाउँदा ग्राहकले वालेटमा १०० रुपैयाँ बोनस पनि पाउनेछन् ।
यो अफर वैशाख ७ गते सम्म मान्य हुनेछ। सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ । अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन् ।
हाम्रो पात्रोका अनुसार यदि अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रो मार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ । अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसै गरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ । गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । यसको छुट्टै मोबाइल एप छैन ।
सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन् ।