कोशी प्रदेशका कृषि उद्यमीहरुलाई सशक्त बनाउँदै आध्यन्त एक्सिलेरेटर कार्यक्रम
काठमाडौं । कोशी प्रदेशका कृषि उद्यमीहरूलाई नवप्रवर्तन र आर्थिक वृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ सञ्चालन भइरहेको ‘आध्यन्त एक्सिलेटर कार्यक्रम’ अन्तर्गतको पहिलो तीन दिने ‘बुटक्याम्प’ वैशाख ५ गते सम्पन्न भएको छ । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेड, सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम), एफएनसीसीआई प्रदेश १ च्याप्टर र कोशी प्रदेशको लगानी प्राधिकरणको संयुक्त आयोजनामा बिर्तामोडमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा चिया, टिस्यु कल्चर, मेसिनरीलगायत विभिन्न पृष्ठभूमिका ११ उद्यमीहरूको सहभागिता रहेको आयोजकले जानकारी गराएको छ । आध्यन्त एक्सिलेरेटर कार्यक्रमको प्राथमिक लक्ष्य कृषि उद्यमीहरूलाई आफ्नो व्यवसाय बढाउन आवश्यक सीप र ज्ञान प्रदान गरी पुँजीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको छ । कार्यक्रमको वृहत उद्देश्य भने कोशी प्रदेशका स्थानीय कृषि उद्यमीहरूलाई सहयोग गर्नु र समग्र प्रदेशकै आर्थिक विकासलाई प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाई छ ।
बुट क्याम्पले बजार अनुसन्धान, वित्तीय योजना र लगानी प्राप्तिको तयारी लगायत व्यवसाय विकाससँग सम्बन्धित विभिन्न पक्षहरूलाई समेटेको थियो । सहभागीहरूले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षक तथा वक्ताहरू, साथै अन्य सहभागी उद्यमीहरूसँग आफ्ना विचार तथा अवधारणाहरूको आदानप्रदान गरेका थिए । आध्यन्त एक्सिलेरेटर कार्यक्रमका सहभागीहरूले अब प्रतिस्पर्धी कृषि क्षेत्रमा व्यवसायलाई थप विस्तार गर्नको लागि आवश्यक अन्तरदृष्टि र सीपहरू प्राप्त गरी अझ राम्रोसँग सुसज्जित भएको बताएका छन् ।
उनीहरूले यस कर्यक्रमले आफ्नो व्यवसाय बढाउन र लगानीकर्ताहरूलाई आकर्षित गर्न मद्दत गर्ने पनि बताए । आध्यन्त एक्सिलेरेटर कार्यक्रम अन्तर्गत सञ्चालित पहिलो बुट क्याम्पको सफलताले कोशी प्रदेशमा कृषि उद्यमशीलताको सम्भावनालाई थप उजागर गरेको आयोजकहरूले बताएका छन् । प्रदेशका उद्यमीहरूलाई थप सहयोग गर्न र लगानीको लागि तयार पार्नको लागि यस्तै खालका थप दुई बुट क्याम्पहरूको योजना पनि बनाइरहेको आयोजकहरूले बताएका छन्।