फर्स्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ।
पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १७.६४ प्रतिशत र कर्जा १४.१४ प्रतिशत घटेको छ।