उद्योग वाणिज्य महासंघ अध्यक्षले गरे पदवहाली, पहिलो निर्णय महासंघमा मेलमिलाप केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद बहाली गरेका छन् । महासंघको विहीवार राजधानीमा सम्पन्न ५७ औं वार्षिक साधारण सभाबाट अध्यक्षको पदभार सम्हालेका अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने पहिलो निर्णय गरेका छन ।
पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने बताएका छन । उनले व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने पनि बताए ।
सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको भन्दै यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको उनले बताए ।
उनले सम्बोधन गर्दै कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशका रुपमा संचालन गर्ने स्पष्ट पारे ।
पदभार हस्तान्तरण गर्दै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाए ।
उनले उद्योग व्यवसाय क्षेत्रमा ढकालको लामो अनुभवले महासंघलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त समेत व्यक्त गरे ।