विद्युत प्राधिकरणका पूर्व उप–कार्यकारी निर्देशक इन्जिनियर मोहनकृष्ण उप्रेतीको ‘नेपालको बिजुली र जनसरोकार’ पुस्तक बजारमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व उप–कार्यकारी निर्देशक इन्जिनियर मोहनकृष्ण उप्रेती ‘नेपालको बिजुली र जनसरोकार’ पुस्तक बजारमा आएको छ । नेपालको समग्र ऊर्जा क्षेत्रको विविध विषय समेटिएको लेखिएको उक्त पुस्तक गत साता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवाली, प्राध्यापक डा.जगन्नाथ श्रेष्ठलगायतका विज्ञहरुले एकैसाथ विमोचन गरे ।
सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा विद्युतकर्मी साहित्यिक समाजको संयुक्त आयोजनामा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर अगाडि बढ्न सुझाव दिए । उनले विद्युत आपूर्तिको सन्तुलन मिलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वजलस्रोत मन्त्री ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्व उप–कार्यकारी निर्देशक इन्जिनियर मोहनकृष्ण उप्रेतीद्धारा लिखित यो पुस्तक राजनीतिक नेतादेखि कार्यकर्तालाई समेत पठाउनु पर्ने बताए । उनले उप्रेतीको पुस्तकले आम नागरिकको धारणा बदल्न मदत पुग्ने बताए ।
प्राध्यापक डा. श्रेष्ठले यो पुस्तक विद्युत प्राधिकरणका उच्च पदस्त कर्मचारी, इन्जिनियर अध्ययन गर्ने विद्यार्थी, बैंकर्स, सरकारको प्रतिनिधित्व गर्ने पदाधिकारी सबैले पढ्नु पर्ने बताए ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै लेखक उप्रेतीले पुस्तकमा देशको ऊर्जा क्षेत्रको सम्पूर्ण अवस्था झल्किने गरीका विषय वस्तुको उठान गरेको बताए । ‘३२ वर्ष विद्युत प्राधिकरणमा काम गर्दाको अनुभवले आज पुस्तक प्रकाशन गर्न सक्षम भएको छु,’ उनले भने,‘जलविद्युत उत्पादन, प्रसारण, वितरणदेखि व्यापारसम्मका सबै कुरा पुस्तकमा अटाउने प्रयास गरेको छु ।’
४ खण्डकमा विभाजित यो पुस्तकमा ३२ वटा उप–खण्ड समावेश गरिएको छ । पहिलो विद्युतका स्रोत, नीति, माग र आपूर्ति खण्डमा विद्युत उत्पादनको स्रोत, नेपालको जलस्रोत र विद्युत उत्पादन, जलविद्युत उत्पादनका मुख्य संरचना शिर्षकका उप–खण्ड राखिएको छ ।
यही खण्डमा विद्युतीय नीति, वैकल्पिक स्रोत, माग र आपूर्तिको अवस्था, प्रसारण तथा वितरण प्रणालीको आवश्यकता र चुनौती, जलवायु परिवर्तन, हरित हाइड्रोको सम्भावना, विद्युतगृह सञ्चालनका चुनौती लगायत उप–खण्ड पनि समावेश छन् ।
यस्तै, दोस्रो विद्युत विकासका चुनौती र उपलब्धी खण्डमा जलविद्युत विकासका चुनौती, राज्यको लगानी, लोडसेडिङ समस्या र समाधान, डिजेल प्लान्टको विकासक्रम, विद्युत प्राधिकरणका सहायक कम्पनी, जलविद्युत उत्पादनमा निजी क्षेत्र तथा जनसरोकारलगायत उप–खण्ड लेखक उप्रेतीले समावेश गरेका छन् ।
तेस्रो खण्ड व्यवस्थापकिय संरचना विकास र जनसरोकारमा विद्युत प्राधिकरणको बदलिँदो संगठनात्मक संरचना, र यसका चुनौती, विद्युत क्षेत्रका बहसयोग्य प्रसङ्ग, विद्युत चुहावट, कमजोर अनुगमन, जलस्रोत र राजनीतिक दललगायत उप–खण्ड छन् । पुस्तकको चौंथो खण्डमा विद्युत व्यापारसँग सम्बिन्ध विषय उल्लेख गरिएको छ ।