ओपो एफनाइन जेड ग्रिन सार्वजनिक हुँदै |
काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भरखरै सम्पन्न अंग्रेजी नयाँ बर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएता पनिओपो एफनाइन जेड ग्रिन यही जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएका ओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ निकै लोकप्रिय छन् । यही मायाँ र सद्भावका लागि धन्यवाद दिने सोचका साथ कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफनाइनलाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो ।
हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।
फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटर ड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिन फोनमा पनि यसैलाई निरन्तरता दिइएको देखिन्छ ।
फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावीअनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगा पिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि१६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।
ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी र्याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी६० उपलब्ध गरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।
यसको बजार मूल्य अहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमा हुने अनुमान गरिएको छ ।