चार्टर उडानमार्फत १८० चिनियाँ पर्यटक नेपाल भ्रमणमा
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानमार्फत १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडको कारण सन् २०१९ देखि रोकिएको चिनियाँ पर्यटकको आगमन यस भ्रमणपछि तोडिएको छ।
हिमालयन एअरलाइन्सको चार्टर उडानबाट आएको पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेनसोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीलगायतले स्वागत गरेका छन्। चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो।
पर्यटकलाई स्वागत गर्दै पर्यटनमन्त्री किराँतीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको उल्लेख गर्दै कोभिड महामारीपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा आएको पर्यटकको समूहलाई स्वागत गर्दै मन्त्री किराँतीले उनीहरूको नेपाल बसाइ सुखद रहोस् भनी शुभकामना समेत व्यक्त गरेका छन्।
यस्तै मन्त्री र राजदूत सोङबीच विमानस्थलमै भएको भेटवार्ताका क्रममा मन्त्री किराँतीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनको लागि आवश्यक सहयोग र पहल गर्न राजदूतलाई आग्रह गरेका छन्। राजदूत सोङले नेपाल चिनियाँ पर्यटकहरूको रोजाइको गन्तव्य भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैं सकारात्मक भएको बताए। उनले कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकाले अब नेपाल आउने चिनियाँ पर्यटकहरूको संख्या क्रमशः बढ्ने बताएका छन्।
यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किन थालेको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने बताए। उनले नेपाल चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनियाँ राजदूत समक्ष आग्रह समेत गरेका छन्।
विगत तीन वर्षदेखि चीनले अन्तर्राष्ट्रिय भ्रमण बन्द गरेको थियो। चिनियाँ पर्यटन मन्त्रालयले गत पुस महिनाको २७ गतेदेखि पहिलो पटक अन्तराष्ट्रिय भ्रमण खुला गरेकोमा स्वीकृत गन्तव्यमा नेपाललाई समावेश गरेको थिएन्। त्यसपछि चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्न सरकार, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायले पहल गर्दै आएकोमा गत फागुन ३ गतेदेखि लागु हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकलाई बाहिरी मुलुकमा घुम्न जान पाउने दोश्रो सूचीमा नेपाल भ्रमण गर्न सकिने राष्ट्रमा परेको थियो।
लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायीमा नेपाल चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा परेपछि खुसी छाएको थियो । बिहीबार हिमालय एअरलाइन्सको एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडानबाट १ सय ८० जना चिनियाँ पर्यटकहरू अवतरण गरेको र आगामी चार्टर्ड उडानहरू मार्फत् थप ७ सय यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
कोभिड–१९ महामारीसँग सन् १०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना, २०२० मा १९ हजार २ सय ५७, २०२१ मा ६ हजार १ सय ९६, २०२२ मा ५ हजार ५ सय ९५ र २०२३ को मार्च सम्म ६ हजार ३ सय ३७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ।