बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेन: मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन् । सोमबार चेम्बरको ७२ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘राजश्व संकलन हालसम्म केवल ४५ प्रतिशतमा सिमित रहेको छ । राजश्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था सिर्जना हुनु मुलुकका लागि सुखद संकेत हैन । आर्थिक गतिविधी विस्तार गरी राजश्व लक्ष्य वृद्धि गर्नु आजको आवश्यकक्ता हो । ’
यसका साथै उनले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनका लागि बिल लिने दिने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । करमा नागरिकको सहभागिता बृद्धिका लागि नागरिकतासंगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
आयात र निर्यातबीचको खाडल उच्च हुँदा व्यापार घाटा बढिरहेको अध्यक्ष मल्लले बताए । उत्पादन वृद्धि, लगानीमैत्री वातावरण एवं व्यवसायिक गतिविधीलाई बढाएर अर्थतन्त्रलाई अगाडी बढाउनुपर्ने अध्यक्ष मल्लले जोड दिए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि लगानी मैत्री बातावारण, कृषि, जलश्रोत, पर्यटन, सूचना प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने अध्यक्ष मल्लले बताए । यसका लागि ठोस योजना र सुशासन एवं पारदर्शिताको आवश्यक्ता रहेको उनको भनाई छ ।
पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं ऋणीहरुमा निकै असर गरेको भन्दै अध्यक्ष मल्लले ब्याजदरलाई छिटोभन्दा छिटो एकल अंकमा सीमित गरिनु पर्नेमा जोड दिए ।