चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष व्यवसायीको माग
काठमाडौं । नेपाल व्यवसायी राष्ट्रिय महासंघले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासंघको टोलीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै ब्याजदर घटाउन माग गरेका हुन् ।
भेटमा महासंघका अध्यक्ष कुमार कार्कीले ७-८ प्रतिशतमा लिएको कर्जा ब्याजदर हाल १५-१६ प्रतिशतसम्म पुगेको र व्यवसायी थप मर्कामा परेको भन्दै ब्याजदर घटाउन माग गरे । मुलुकमा व्यवसायको वातावरण निर्माण गर्न ब्याजदर एक अंकमा कायम गर्नुपर्छ भन्ने माग महासंघको हो, उनले भने ।
महासंघले करका दर, भन्सार दरबन्दी घटाउनुपर्ने, विदेश पलायन हुँदै गएका युवालाई सीपमुलक तालिम प्रदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई कृषिजन्य उत्पादनसँग जोड्नुपर्ने, उद्योगी र किसानबाट उत्पादित सामान सहजै बजारसम्म लैजाने वातावरण निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । यस्तै, महासंघले बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तीमा ६ महिना बनाउन माग गरेको छ ।