धितोपत्र बोर्ड विरुद्धको रिट खारेज, नयाँ स्टक, ब्रोकर र विनिमय कम्पनीलाई लाइसेन्स दिने बाटो खुला

काठमाडौं । धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र वस्तु निनिमय बजारको लाइसेन्स दिने बाटो खुलेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर र वस्तु विनिमय बजारलाई दिन लागेको लाइसेन्सको प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज भएसँगै नयाँ लाइसेन्स दिने बाटो खुला भएको हो ।
बोर्ड विरुद्ध अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आइतबार अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो । यसअघि नेपाल धितोपत्र बोर्डले गरेको धितोपत्रसम्बन्धी नियमावली संशोधन संविधानविपरीत नभएको सर्वोच्च अदालतले ठहर गरेको थियो ।
अधिवक्ता अमृत खरेलले संविधान र धितोपत्रसम्बन्धी ऐनविपरीत हुनेगरी बोर्डले नियमावली संशोधन गरेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले रिट खारेज हुने फैसला गरेको थियो ।