राष्ट्र बैंक डेढ अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै | सबैभन्दा बढी वाणिज्य बैंकले पाउने, ब्याज बढीमा साढे ९ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै डेढ अर्ब रुपैयाँ निक्षेप एक वर्षका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई दिने भएको छ । कुल रू. १ अर्ब ४८ करोड ३५ लाख निक्षेप दिनका लागि राष्ट्र बैंकले पुस २२ गतेभित्र प्रस्ताव पेश गर्न आह्वानसमेत गरिसकेको छ ।
उक्त निक्षेपमध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरूले पाउने भएका छन् । त्यसपछि विकास बैंक र फाइनान्सहरूले पाउनेछन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ निक्षेप दिनेछ । त्यसैगरी, विकास बैंकहरूलाई २२ करोड २५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूलाई ७ करोड ४२ लाख रुपैयाँ निक्षेप दिइने बताइएको छ ।
प्रस्तावकले उक्त निक्षेप लिँदा कति ब्याज दिने भनेर प्रस्तावनामा उल्लेख गर्नुपर्नेछ । निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ बर्ष, खराब कर्जा ५ प्रतिशतभन्दा तल, तोकिएको पूँजी कोष अनुपात पूरा गरेको हुनुपर्ने मापदण्ड रहेको छ । राष्ट्र बैंकले बढीमा साढे ९ प्रतिशतसम्म ब्याज पाउनेछ ।