एनएसीले जापान उडानका लागि दुई महिनाभित्रै अनुमति पाउने |

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं˗जापान उडान अनुमति छिट्टै पाउने भएको छ । निगमले ४० दिन भित्र उडान अनुमति पाउने जानकारी दिएको हो । फाइलिङ एजेन्ट नियुक्त भइसकेको र ४० दिनभित्र उडान अनुमति पाउने निगमको भनाई छ ।
ग्राउण्ड ह्याण्डलिङको लागि सबै प्रक्रिया पूरा भइसकेको र सम्झौंतापत्रमा हस्ताक्षर हुन मात्र बाँकी रहेको बताइएको छ । क्याटरिङको व्यवस्था पनि प्रक्रियामै रहेको छ । क्याटरिङ, होटल र फ्युल लगायतका विषयमा छलफल शुरु भएको बताइएको छ ।
निगमले चीन उडानका लागि ८० प्रतिशत भन्दा बढी काम गरिसकेको छ । निगमले ग्वान्जाउ उडानका लागि लोकल रजिष्ट्रेशनका लागि बैंक इन्स्योरेन्स प्रक्रिया पनि शुरु गरिसकेको छ । दुई साता भित्र ग्राउण्ड ह्याण्डलिङ र फ्युलिङको क्षेत्र अन्तर्गतको काम सकिनेछ ।
इन्जिनियरिङ र मेन्टिनेन्सका लागि चाइनिज इन्जिनियरिङ गेम्को कम्पनीलाई दिइएको निगमले जानकारी दिएको छ । निगमले चीन उडानका लागि बेइजिङ लङवे इन्टरनेशनल ट्राभल सर्भिसलाई जीएसएलाई तोकिसकेको छ । आउँदो मार्चबाट काठमाडौं˗ग्वान्जाउ उडान गर्ने निगमको योजना रहेको छ ।