महानगरीय प्रहरी प्रभाग बालकोटको नयाँ भवनको उद्घाटन | प्रहरी र नागरिकबीचको सहकार्यले नै प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप मजबुत बनाउँछ : प्रनाम क्षत्री
काठमडौं । २ करोड २६ लाख २६ हजार रुपैयाँको लागतमा नवनिर्मित महानगरीय प्रहरी प्रभाग, बालकोट भक्तपुरको कार्यालय भवनको हिजो बुधवार उद्घाटन गरिएको छ । उक्त कार्यालय भवनको उद्घाटन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक सैलेश थापा क्षत्रीले गरेका हुन् ।
उक्त भवनको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक सैलेश थापा क्षत्रीले प्रहरी र नागरिकबीचको सहकार्यले नै प्रहरीले प्रदान गर्ने सेवा तथा सुरक्षालाई थप मजबुत बनाउन सकिने बताएका छन् । उनले भने, ‘प्रहरीले गरेका ९० प्रतिशत सफलताचाहिँ बाहिर नआउने तर प्रहरीको एउटा गल्तीले नै समग्र प्रहरी संगठनको मूल्याकन गर्ने परिपाटीको अन्त्य गर्दै प्रहरीले गरेका राम्रा कामहरूलाई पनि समाजले मूल्याकन गर्नुपर्छ ।’
सो अवसरमा प्रहरी नायव महानिरीक्षक क्षत्रीले प्रहरीले भौतिक स्रोत साधनको अभावका बाबजुत पनि शान्ति सुरक्षा प्रदान गर्दै राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गरेको चर्चा गरे । जिम्मेवारी निर्वाह गर्ने क्रममा स–साना गल्तीहरू पनि नगरी नयाँ भवनबाट अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
प्रा. प्रहरी नायव उपरीक्षक ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन के.सी., सहायक प्रमुख जिल्ला अधिकारी, मध्यपुर थिमि नगरपालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी स्थानीय नागरिकहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।