वैदेशिक रोजगारीमा रहेकालाई आजबाट रावा इनर्जीको आइपीओ बिक्री खुला
काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको आइपीओ आज (चैत २३ गते) देखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको २८ करोड रुपैयाँको १०% अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । यस आइपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुन आउने ५६ लाख रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि छुट्याईएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् ।
स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने २०८० वैशाख ७ गतेभित्र आवेदन दिनु पर्नेछ ।
रेटिङ एजेन्सी केयर नेपालले रावा इनर्जीको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।