तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन चैत २३ गतेदेखि काठमाण्डाैमा शुरू हुँदै
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले तीन दिने तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा महासंघले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म याक एण्ड यतिमा हुने भएको हो ।
सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने थिमकासाथ राष्ट्रिय सहकारी महासम्मेलन गर्ने भएको हो । महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गर्ने भएका छन् भने समापन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको राष्ट्रिय सहकारी महासंघले जानकारी गराएको छ ।
महासम्मेलनमा ११ वटा विषयमा प्रस्तुति हुनेछन् भने सहकारीका जल्दा बल्दा विषयमा छलफल हुनेछन । जसमा पूर्व अर्थमन्त्री,मन्त्रीहरू,पूर्व गर्भनर,सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहने छ ।
प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेको सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै वर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको सम्बोधन गर्नुका साथै महासम्मेलनले सन २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्ने बताइएको छ । उक्त महासम्मेलनमा करिब एक हजार जनाको सहभागीता रहने बताइएको छ ।