कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न |
काठमाडौं । कृषि विकास बैंक, चितवनको पर्सा खैरहनी शाखाले गत सनिबार बैंकको मध्यमाञ्चल क्षेत्रीय तालीम केन्द्र बिरेन्द्रनगरमा आयोजना गरेको एक दिने वित्तिय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम राप्ती नगरपालिका वार्ड ८ का वडा अध्यक्ष बुद्धि थपलियाले उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापक, स्कुलका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए ।
सो कार्यक्रमका सहभागीहरुलाई शाखा पर्सा खैरहनीका प्रबन्धक काशीराज कंडेलले स्वागत गर्दै ५० बर्षको ईतिहास बोकेको यस बैंकले जनताका घरदैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताए । बैंकको मुख्य कार्यालयका शाखा प्रमुख माधव रिजालले बाली तथा पशुधन सुरक्षण तथा कृषि कर्जामा प्रदान गरिने विभिन्न प्रकारका सेवा सुविधा र अनुदानका विषयमा जानकारी दिए ।