मार्चमा भित्रिए १ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट
काठमाडौं । मार्च महिनामा १ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा हवाई मार्गबाट कुल ९९ हजार ४ सय २६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्या कोभिड संक्रमणपछिकै सबैभन्दा बढी हो ।
यसअघि गत वर्ष २०२२ को मार्च महिनामा ४२ हजार र सन् २०२१ को मार्च महिनामा १५ हजार २५४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिड संक्रमण शुरु भएको वर्ष भने ४२ हजार ७ सय ७६ जना पर्यटक नेपाल आएका थिए भने कोभिड संक्रमण अगाडि सन् २०१९ को मार्च महिनामा भने १ लाख २७ हजार ३ सय ५१ जनना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को पर्यटक आगमनसँग तुलना गर्दा गत महिना पर्यटक आगमन ७८ प्रतिशत देखिएको छ ।
सबेभन्दा बढी दक्षिण एसियाली देशबाट नेपाल भ्रमणका लागि आएका छन् । दक्षिण एसियाली देशहरुबाट मार्च महिनामा ३३ हजार ४ सय ५४ जनाले नेपाल भ्रमण गरेका छन् । दक्षिण एसिया बाहेकका अन्य एसियाली मुलुकबाट १५ हजार ६ सय ४३ जनाले नेपाल भ्रमण गरेका छन् । युरोपेली मुलुकहरुबाट २३ हजार २ सय ६५ जनाले नेपाल भ्रमण गरेका छन् ।
सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतबाट
पछिल्लो समय नेपालको पर्यटन बजारमा सबैभन्दा धेरै योगदान छिमेकी राष्ट्र भारतकै देखिएको छ ।
अर्को उत्तरी छिमेकी राष्ट्र चीनको योगदान पर्यटन बजारमा कोभिड अगाडि राम्रै देखिए पनि कोभिड पछाडि भने खासै देखिएको छैन ।
कोभिड पछाडि चीनले समूहगत रुपमा घुम्न सकिने दोस्रो लटमा पहिलो नम्बरमा राखिसकेको छ । चीनले मार्च १५ तारिखदेखि लागू हुने गरी समूहगत रुपमा घुम्न मिल्ने सूचीमा नेपाललाई समेत सामेल गरेको थियो । मार्च महिनामा चीनबाट २६३५ जना पर्यटक मात्रै नेपाल घुम्न आएका छन् ।्
धेरै पर्यटक आउने उत्कृष्ट १० मा कुन कुन परे ?
मार्च महिनामा सबैभन्दा धेरै पर्यटक आउने देशको पहिलो नम्बरमा भारत परेको छ । भारतबाट मार्च महिनामा २५ हजार ९ सय ११ जना पर्यटक नेपाल आएका छन् भने त्यसपछि धेरै पर्यटक आउने देशमा बेलायत रहेको छ । अमेरिकाबाट मार्च महिनामा ९ हजार ५ सय ५७ जना पर्यटक नेपाल आएका छन् । तेस्रो धेरै आउने देशमा बेलायत, चौथोमा जर्मनी, पाँचौमा श्रीलंका, छैटौमा थाइल्यान्ड, सातौंमा अष्ट्रेलिया, आठौंमा फ्रान्स, नवौंमा चीन र दशौंमा दक्षिण कोरिया परेका छन् ।