‘इन्टरनेटका पिता’ ल्यारी रोबर्टस्को निधन |
इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को ८१ वर्षको उमेरमा निधन भएको छ । इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।
सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।
आर्पानेटमा विकशित प्रविधिहरु विद्यमान इन्टरनेट प्रविधिमा प्रयोग हुँदै आएका छन् । रोबोर्टलाई इन्टरनेटका चारजना जनक मध्येका एक मानिन्छ । अन्य तिनजनामा बब काह्न, भिन्ट सर्फ र लेन क्लेइनरक रहेका छन् ।
रोबार्टले सबैभन्दा पहिलोपटक कम्प्युटर नेटवर्कको विकास गरी डाटा ट्रान्सफरको प्रविधि पनि विकास गरे । उनले विकास गरेको आर्पानेट नामक नेटवर्क प्रणालीमा पहिलोपटक सन् १९६९ मा चारवटा कम्प्युटर जोडिए । त्यस पश्चात यस्तो नेटवर्कमा धेरै विश्वविद्यालय र अन्य अनुसन्धान संस्थाहरु तिव्र रुपमा जोडिए ।
आर्पानेट सन् १९८३ सम्म कायम रह्यो र त्यसपछि वृहत इन्टरनेट सञ्जालको एक भागको रुपमा रह्यो ।
एजेन्सी