महासंघमा चौथो पटक उपाध्यक्ष उठ्दै दिनेश श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ गते हुने निर्वाचनमा व्यवसायी दिनेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा दाबी गरेका उनले जिल्लानगर उपाध्यक्ष निजी क्षेत्रको नेतृत्व सरहको पद भएको भन्दै जिल्लानगर उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उनी अहिले जिल्ला महासंघका जिल्लान गर उपाध्यक्ष रहेका छन्। यसअघि प्रदिपजंग पाण्डेको कार्यकालमा पनि उपाध्यक्षमा निर्वाचित भएका थिए भने पशुपति मुरारकाको कार्यालयमा पनि उपाध्यक्षको जिम्मेवारीमा थिए।
भवानी राणाको कार्यकालमा जिल्लानगर उपाध्यक्ष हारेका उनी त्यही कार्यकालमा बागमती प्रदेशको अध्यक्ष बनेका थिए। शेखर गोल्छाको कार्यकालमा पुनः उपाध्यक्षमा निर्वाचित भएका उनी फेरि उपाध्यक्षमा उम्मेदवार रहेको घोषणा गरेका छन्।
‘यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर जिल्लानगर उपाध्यक्षमा दोहोरिन चाहेको उनले बताएका छन्।
उनले कुन प्यानलबाट उम्मेदवार बन्ने भन्ने विषयमा खुलाएका छैनन्। यसअघि अन्जन श्रेष्ठले पदाधिकारीका उम्मेदवारहरू घोषणा गरिसकेका छन् भने रामचन्द्र संघाइ र उमेश श्रेष्ठ पनि प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरिरहेका छन्।