प्रभु सेलेक्ट फण्डले कमायो ४ करोड ६७ लाखभन्दा बढी नाफा
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले फागुन मसान्तसम्म रू. ४ करोड ६७ लाख ९१ हजार नाफा गरेको छ । माघ मसान्तसम्मको तुलनामा भने योजनाको नाफा घटेको हो । माघ मसान्तसम्म योजनाको नाफा रू. ८ करोड १३ लाख ८० हजारभन्दा बढी थियो ।
फागुनमा योजनाको आम्दानी घटेको र खर्च बढेकाले नाफामा असर परेको देखिन्छ । माघ मसान्तसम्म रू. ९ करोड ४६ लाखभन्दा बढी आम्दानी गरेको योजनाले फागुन मसान्तसम्म रू. ६ करोड १९ लाख २८ हजारभन्दा बढी मात्र आम्दानी गरेको छ । खर्च भने माघ मसान्तसम्म रू. १ करोड ३२ लाखभन्दा बढी भएकोमा फागुन मसान्तसम्म रू. १ करोड ५१ लाखभन्दा बढी भएको हो ।
धितोपत्र दोस्रो बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले फागुन मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित धितोपत्रमा रू. ८३ करोड ४४ लाखभन्दा बढी लगानी गरेको छ ।
धितोपत्र बजार घटेको अवस्थामा योजनाको लगानीको मूल्यमा पनि कमि आएको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ६८ करोड २ लाखभन्दा बढी मात्र कायम भएको छ । बैंक मुद्दती निक्षेपमा योजनाको लगानी रू. १८ करोड २५ लाख रहेको छ ।
सात वर्षे अवधिको यस योजनाको इकाई २०७८ साल जेठ १४ गते बाँडफाँट भएको थियो । योजना २०८५ साल जेठ १३ गते परिपक्क हुनेछ । यस योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । फागुन मसान्तसम्म योजनाको प्रति इकाई खुद मूल्य रू. १० दशमलव १९ रहेको छ । माघ मसान्तसम्म यो मूल्य रू. १० दशमलव ४७ रहेको थियो ।