सिटि होटल लिमिटेडले तय गर्यो आईपीओ निष्कासनको मिति
काठमाडौं । सिटि होटल लिमिटेडले सर्वसाधारणमा जारी गर्ने आईपीओ विक्री मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत २१ गतेदेखि आगामी वैशाख ५ गतेसम्म आईपीओ विक्री गर्ने भएको हो । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि भने आगामी वैशाख २५ गतेदेखि छिटोमा विक्री अवधि वैशाख २८ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको छ । छिटो अवधिभित्र सर्वसाधारणबाट माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि जेठ ८ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीको छ । तर पछिल्लो समय सर्वसाधारण्मा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहनेछ ।
दुबै समूह अन्तर्गतका लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
कुल कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि विक्री गरिनेछ । त्यसपछि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर सार्वजनिक निष्कासनमा आउनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अधिकृत पूँजी रू. २ अर्ब रहेको कम्पनीको जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाख रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम हुनेछ ।